दफा ११०
सम्पत्ति विवरण पेश गर्ने
(१) सदस्यले पद धारण गरेको र प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो र आफ्नो परिवारको सदस्यको नाममा रहेको चल अचल सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण प्रचलित कानूनले तोकेको ढाँचामा सम्बन्धित स्थानीय तहमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको सम्पत्तिको विवरण सम्बन्धित स्थानीय तहले अभिलेख राखी तीस दिनभित्र प्रदेश सरकार समक्ष पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त विवरणको संरक्षण तथा व्यवस्थापन प्रदेश सरकारले प्रचलित कानून बमोजिम गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिम पेश भएको सम्पत्ति विवरण प्रचलित कानून बमोजिमको छानबिन वा अनुसन्धान प्रयोजनका लागि बाहेक गोप्य रहनेछ ।
तर त्यस्तो विवरण पेश गर्ने सदस्यले स्वेच्छिक रूपमा आफ्नो सम्पत्तिको विवरण सार्वजनिक गर्न कुनै बाधा पर्ने छैन ।